
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनियामा महोत्सव संचालन हुने भएको छ । निर्माणधिन सेती लोकमार्ग सडकको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप छैटौं स्करणको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० को आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।




“कृषि, ब्यापार, सांस्कृति र पर्यटनको बिकास, निर्माणधिन सेती लोकमार्गको निकास” भन्ने मुल नाराका साथ बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यही चैत्र ९ गतेदेखि १८ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
बिगत लामो समयदेखि निकै महत्वको साथ संचालन हुदै आएको महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने र महोत्सवले पर्यटन, संस्कृति लगायत सेती लोकमार्ग र समग्र विकासमा महत्व राख्ने आयोजक बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चका अध्यक्ष भरत ताम्राकारले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा १ सय वटा व्यापारीक स्टल रहनेछ्न । महोत्सव अवलोकनकर्ताको लागि शुद्ध पिउने पानी, सुरक्षाको उचित प्रवन्ध मिलाइएको छ । महोत्सव सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिने आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनकर्ताको लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टीकट शुल्क लाग्ने जनाइएको छ । यसैगरी विद्यार्थी ,जेष्ठ नागरिक ,अपांगता भएका व्यक्तिहरुको लागि आवश्यक परिचयपत्रको आधारमा ५० रुपैयाँमा टीकट उपलब्ध गराइने भएको छ भने सिजिनल टिकटको हकमा ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आयोजककाअनुसार टिकटबाट उठेको रकम प्रति टिकट बराबर १ रुपैया बर्दगोरिया २ मा रहेको सहारा घरलाई आर्थिक सहयोग गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै आधुनिक कृषि प्रबिधिको प्रशिक्षण, थारु तथा मगर गाँउ र खानाका परिकारहरु समेत राखिनेछ्न ।
सेती लोकमार्गको कामलाई तिब्र रुपमा अघि बढाउन दबाब दिने हेतुले केन्द्रीय स्तरका नेता तथा मन्त्रीलाई महोत्सवमा ल्याउने तयारी भईरहेको बताईएको छ । झन्डै १० दिनसम्म संचालन हुने महोत्सवमा करिब ५ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
महोत्सवले कला संस्कृतिको संरक्षण सँगै व्यापार व्यवसायमा वृद्धि गर्नुका साथै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भएपनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पहिचान र प्रचारप्रसारको प्रखाइमा रहेका पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्रको वृद्धि विकासमा समेत महोत्सवले टेवा पुर्याउने दाबी गरिएको छ ।