बौनिया । कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएर पुलमा क्षती पुगेपछि आवागमन बन्द गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासि आगलागी हुुँदा पुलका १४ वटा लठ्ठामा पनि क्षति पुगेको छ ।

आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुन लाइटर र नगद ५७ हजार रुपैयाँ क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिएका छन ।

पुलमा भएको क्षतिको भने प्राविधिक टोलीले जाँच गरेपछि एकिन हुने सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर नीरज शाक्यले बताएका छन । मंगलबार प्राविधिक टोली आएर जाँच गर्ने उनले बताए ।
कर्णाली पुलमा आगागमन बन्द गरिएपछि हाल हुलाकी राजमार्गबाट सवारी साधन ओहोरहोहोर गरिरहेका छन ।