साउन ३, कैलाली । जिल्लाको बर्दगोरियामा २६औँ कमैया मुक्ति दिवस मनाइएको छ । सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको दिनको स्मरणमा बर्दगोरिया गाउँपालिकामा रहेका मुक्त कमैयाहरुले एक कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन ।



कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले मुक्त कमैयाहरुले साउन २ गतेलाई हर्षोउल्लासका साथ खुशीयाली मनाउनु पर्ने बताए । “आजको दिन सामान्य जिवनयापनका लागी कैदी झै जिवन बिताउन बाध्य, मुल्यहिन रुपमा श्रम गर्न बाध्य कमैयाहरुले मुक्ति पाएको दिन हो । आजको दिनलाई थारु समुदायको माघी पर्व झै मुक्त कमैयाहरुको विशेष पर्वका रुपमा बुझ्न आवश्यक छ ।” उनले भने।



कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले पालिका भित्र रहेका मुक्त कमैयाहरु तथा कमलहरीहरुको पहिचान र व्यवस्थापनको पाटोलाई अघि बढाउन सरकार लागी रहेको उल्लेख गरे । हामीले मुक्त कमैयाहरुको घर निर्माणलाई प्राथमिकतामा राखेका छौ । उनले अघि भने,॰॰॰ “यस वर्ष पनि केही घरहरु बन्ने छन् । यो सँगै मुक्त कमैया र कमलहरीको पहिचान र आवश्यक व्यवस्थापनमा पनि हाम्रो ध्यान गएको छ ।नीतिगत रुपमै कार्यान्वयन गर्ने योजना छ र त्यसका लागी छलफल गर्दै छौ ।”
कार्यक्रममा बोल्दै कमैया मुक्तिका अभियन्ता डा॰ रामबहादुर चौधरीले कमैयाहरु मुक्त भएपनि सो बस्तीमा अझै शिक्षाको महत्व नबुझेको र शिक्षामा पहुँच समेत नभएको बताए ।“म पनि कमैयाको छोरा हुँ।कमैया मुक्तिको बिजारोपण गर्ने मध्यको म पनि हुँ ।तपाईहरु २०५७ सालमा मुक्त हुनु भयो तर मैले मेरो बाबालाई २०४४ सालमै कमैयाबाट मुक्त गराएको हुँ ।कारण हो शिक्षा, यदि म नपढेको नलेखेको भए बोल्न भन्न सक्ने थिएन ।नियम कानून जान्ने थिएन ।सायद म पनि बाबा जस्तै कमैया बन्थे ।मैले कमैयालाई दास बन्नु हुँदैन भनेर सिकाउथे अनि जमिन्दारलाई कानून पढाउथे।त्यसैले सबैभन्दा ठुलो कुरा शिक्षा हो ।यसको महत्व बुझ्नु पर्छ ।” उनले भने।
साथै उनले कक्षा १ देखी १२ सम्म सबैलाई निसुल्क शिक्षा तथा मुक्त कमैयाहरुका सन्तानहरुलाई कलेजमा समेत निसुल्क शिक्षाको व्यवस्था गरेको भन्दै गाउँ सरकारको तारिफ समेत गरे ।कार्यक्रममा सहभागी मुक्त कमैयाहरुले आफुहरुको पहिचान, व्यवस्थापन तथा शिविरहरुमा विकास निर्माण लगायतका मागहरु समेत राखेका छ्न् ।पालिका अध्यक्ष कुँवरले गाउँ सरकार उनीहरुको साथमा रहेको प्रतिवद्धता जनाएका छन् ।













