जेठ ३०, काठमाण्डौ । नेपालमा मनसुन भित्रिने औसत मिति आज अर्थात् जुन १३ तारिख हो । यस वर्षको मनसुनी वायु नेपालको सीमा आसपास छ । पूर्वी वायु अर्थात् मनसुनी वायुको आंशिक प्रभाव शुरु भएको केही दिन भएपनि मनसुन भित्रन ढिलाइ भएको हो ।



जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार तोकिएको सरदर मिति आज भएपनि मनसुन भित्रिने सम्भावना कम छ । उहाँका अनुसार महाशाखाले मनसुन भित्रने अवस्थाबारे अध्ययन गरिरहेको छ ।



मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारीका घोषणा गर्ने तयारी छ । पोहोर सरदर मितिभन्दा १५ दिन छिटो जेठ १६ मै मनसुन नेपाल प्रवेश गरेको थियो । तर १५ दिन छिटो नेपाल भित्रिएपनि लामो समय मनसुन पुर्वी भागमै बसेको थियो ।



नेपालमा मनसुन अवधिमा वर्षभरको झण्डै ८० प्रतिशत वर्षा हुन्छ । मनसुन भित्रिएपछि बाहिरीने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यसवर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।
यसैबीच आज कोशी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बाँकी पहाडी र तराई भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।













