जेठ २९, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गते (२३ सेप्टेम्बर २०२६) देखि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेसँगै पोखराबाट सिधा अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो ।

CP-HOSPITAL

विमानस्थल उद्घाटन भएको करिब तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुन लागेको खबरले पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह छाएको छ ।

करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवको आयोजना हो । यसको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन । यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू मात्र सञ्चालन भएका थिए भने भारततर्फ एकपटक हवाई एम्बुलेन्समार्फत आकस्मिक मेडिकल उडान गरिएको थियो ।

सराेकारवाला के भन्छन्  ?

दुबई उडानसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा सराेकारवालाकाे छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनले यो केवल हवाई सेवा थपिएको विषय मात्र नभई पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको बताए ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा पूर्वाधार परियोजना मात्र होइन, यो पोखरेलीहरूको दशकौँदेखिको सपना हो, विमानस्थल निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा उपलब्धि हासिल हुन सकेको थिएन’, श्रेष्ठले भनेका छन्, ‘अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि हो ।’

होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले पोखरा–यूएई सिधा उडानले पाेखराकाे पर्यटनले ठूलाे फड्काे मार्ने टिप्पणी गरे । ‘यूएईसम्म नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्नेछ, लामाे समयदेखि केही असहज बनेकाे पर्यटनमा उभार ल्याउन सक्छ’, उनले भनेका छन् ।

बहुआयामिक लाभ र टिकट बुकिङ

प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर पोखराबाट सिधा उडान सुरु भएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । साथै, दुबई हुँदै विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने विश्वास गरिएको  छ।

फ्लाई दुबईले सञ्चालन गर्ने यो सेवाका लागि इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्ने जनाइएको छ ।