जेठ २१, गोरखा । पालुङटार नगरपालिकाले अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको छ । २१ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा बिहीबार अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।

CP-HOSPITAL

पालुङटार–१ का जेम्स कोइराला र गंगा लामा, वडा नम्बर ४ का सुजन थापा क्षेत्री र रञ्जिता कुमाल एवं वरदान श्रेष्ठ र सचिन गुरुङलाई नगरपालिकाले सम्मान गरेको हो ।

अन्तरजातीय विवाह गरी सामाजिक रूपान्तरणको अभियानमा योगदान दिने जोडीलाई सम्मान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मनोज सिर्मलले बताए । अन्तरजातीय विवाह गरी चालु आर्थिक वर्षमा विवाह दर्ता गर्ने जोडीलाई सम्मान गरिएको उनले बताए ।

‘जातीय भेदभाव कानुनी रूपमा उन्मूलन भए पनि व्यावहारिक रूपमा अझै कतिपय कठिनाइ छन्, आज नै अन्तरजातीय जोडीलाई सम्मान गर्ने भनेर भन्दा केही जोडी सामाजिक सञ्जालमा तस्बिर आउँछ, हामी अप्ठ्यारोमा पर्छौं कि भनेर धक मान्नुभयो,’ उनले भने, ‘सामाजिक दबाब झेल्दै बस्नुपर्ने अवस्था छ, यस्तो अवस्थाको अन्त्यका लागि पनि सम्मान गरेका हौं ।’

नगर प्रमुख विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डेले अन्तरजातीय विवाह गर्ने जोडीलाई दोसल्ला ओढाएर फूलको गुच्छा दिएर सम्मान गरेका हुन् ।