



बौनिया / पश्चिम दर्पण



लम्की । लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।




‘शिक्षा र सूचना विकासको अभियान, कृषि व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा गत पुस ५ गते देखि १६ गतेसम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कूल ५५ लाख ७३ हजार पाँच सय बराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका उपसंयोजक एवम् आर्थिक संयोजक दीपककुमार तिमिल्सेनाले जानकारी दिए ।



उनका अनुसार करिब एक लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको थिए । महोत्सवबाट १६ लाख ३० हजार आठ सय ३८ बचत भएको आर्थिक संयोजक तिमिल्सेनाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरोन्नति, उपकरण खरिद र भवन निर्माणमा खर्च गरिने पत्रकार सम्मेलनमार्फत उनले बताए । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्नुका साथै सुस्त रहेको व्यापार व्यवसायलाई चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताए।
‘सामुदायिक रेडियो सबैको साझा सम्पत्ति हो । यसले सार्वजनिक हितका साथै समाजका कुरालाई प्रसारण गर्दै आएको छ’, उनले भने, ‘महोत्सवबाट सङ्कलन भएको रकमले भवन निर्माण तथा उपकरण खरिद गर्नेछौँ । महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिन चाहन्छु ।’ लम्कीचुहा नगरपालिका(३ का वडाध्यक्ष एवम् नगर प्रवक्ता लवबहादुर शाहीका अनुसार देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा थोरै भए पनि महोत्सवले अर्थतन्त्र चलायमान बनाएको छ ।
यस क्षेत्रको सार्वजनिक सम्पत्तिका रूपमा रहेको सामुदायिक रेडियोको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । पत्रकार सम्मेलनमा रेडियोका संस्थापक अध्यक्ष बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी, खर्च र फाइदाका रूपमा हेर्नुभन्दा पनि मनोरञ्जन, पर्यटन प्रवर्द्धन तथा व्यापारसँग जोड्नुपर्ने बताए । रेडियोका लेखासमिति संयोजक मोतीप्रसाद उपाध्यायले रेडियोले आयोजना गर्ने हरेक कार्यक्रमको छुट्टै विशेषता रहेको भन्दै महोत्सवले स्थानीय स्रोतसाधनको उपयोग गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताए ।
पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका सदस्य गणेशराज ओली, रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेलगायतले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। महोत्सवमा आम्दानी भएको कूल रकममध्ये १० लाख बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । आजै बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समूहको स्थापना दिवसका अवसरमा आगामी चैत १७ गते रेडियोको नवौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।