के आर पाण्डे, भजनी । उद्योग वाणिज्य संघ भजनीको आयोजनामा भजनी महोत्सव २०८० सुरु भएको छ ।

बिहिवारबाट सुरु भएको भजनी महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश देउवा भजनी कैलाली जिल्लाकै महत्त्वपूर्ण प्रशासनिक र व्यापारिक केन्द्रको रुपमा रहेको बताउँदै त्यसलाई पहिलेकै अवस्थामा फर्काउन आवश्यक रहेको बताएका छन् । “भजनी सम्भावनाले भरिएको क्षेत्र हो । कृषि, पर्यटन र धार्मिक हिसाबले भजनी निकै महत्त्वपूर्ण छ ।” उनले भने, “त्यसलाई माथी उठाउन हामी सबैको दायित्व हो । त्यसलाई सँगसँगै मिलेर हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ ।

”उनले दुई ठुला राजमार्ग पुर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गको बिचमा पर्ने भएको हुँदा पनि भजनीको सम्भावना अझै बढी रहेको बताएका छन् । मन्त्री देउवाले सम्भावना हुँदाहुँदै पनि भजनीले सोचेको विकासको महसुस गर्न नसकेको बताएका छन् । “हरेक दृष्टिकोणबाट भजनी सम्भावनाको क्षेत्र हो । सम्भावना भएर पनि भजनी अझै पछाडि छ ।” मन्त्री देउवाले भने, “अब भजनीको विकासका लागि तिनै तहको सरकारको एकता आवश्यक छ ।

त्यसमा स्थानीय र संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने जिम्मेवारी प्रदेश सरकारले लिन्छ ।”विश्व अर्थतन्त्र संकटमा पर्दै गएको समयमा यस्ता मेला महोत्सवले स्थानीय क्षेत्रको पुँजीलाई चलायमान बनाउने बताउँदै मन्त्री देउवाले भजनी महोत्सवले स्थानीय उत्पादन र स्थानीय बजारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भजनी महोत्सव सफलतापुर्बक सम्पन्न हुनेमा आशावादी हुँदै मन्त्री देउवाले प्रदेश सरकारले पनि मेला महोत्सव तथा कला संस्कृतिको क्षेत्रमा सबैसँग सहकार्य गरेर अघि बढिरहेको बताएका छन् ।

साथै मन्त्री देउवाले सुदुरपश्चिम प्रदेशको समृद्धिका लागि प्रदेश लागि परेको बताएका छन् । उनले सुदुरपश्चिम भित्रको स्रोतसाधनलाई परिचालन गरी सुदुरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिने बताएका हुन । “हामीसँग भएका सम्भावनालाई संस्थागत गर्न सक्यो भने त्यसले सुदुरपश्चिमलाई गतिमा अगाडि बढाउन समय लाग्ने छैन ।” मन्त्री देउवाले भने, “त्यसका लागि प्रदेश सरकार स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यका लागि लागिपरेको छ ।” मन्त्री देउवालाई महोत्सवबाट तीन बुदे ज्ञापनपत्र समेत बुझाइएको छ ।

महोत्सवमा सविधान सभा सदस्य माननीय विरमान चौधरी र भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष प्रेमराज जैशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचीव जयबहादुर बुढा र कलाकार रुपा जिएमले गरेका थिए भने स्वागत महासचिव नैनबहादुर चौधरीले गरेका थिए । महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।