कैलाली । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । कैलालीका १२६ वटै वडामा खटाइएका प्रतिनिधिहरुले मंगलबार जिल्लाभर अभियानको सुरुवात गरेका हुन् ।

नेपाली कांग्रेस गाउँ कार्यसमितिले मंगलबार वडा नं ३ बाट अभियानको आरम्भ गरेको छ । कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान अन्तर्गत गाउँटोलमै पुगेर जनताका गुनासा, समस्या र सुझाब संमलन गरी माथिल्लो तहसम्म पेश गर्न लागेको जिल्लाका प्रतिनिधिले बताएका छन् ।

अभियान माघ १६ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ । सभापति कृष्ण विष्टको सभापतित्वमा शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव जगतबहादुर शाहीले गरेका थिए । कार्यक्रममा महासमिति सदस्य एवं प्रमुख अतिथि वीरबहादुर थारुले कांग्रेसको केन्द्रीय समितिले तय गरेको अभियानका लागि जिल्ला कार्यसमिति कैलालीले सबै वडामा प्रतिनिधि समेत तोकेर पठाएकाले पार्टीको अवस्था, निर्वाचित जनप्रतिनिधिसँग जनताको अपेक्षा, गुनासो र सुझाव लिनको लागि कांग्रेसले अभियान चलाएको बताए । उनले पार्टीमा महिला, अदिवासी जनजाति तथा थारु समुदायको सहभागितामा जोड दिएर पार्टीको संगठनलाई चुस्तदुरुस्त राख्नुपर्ने बताए । उनले जनताका अपेक्षालाई समेट्ने गरी पार्टी नेतृत्व र निर्वाचित जनप्रतिनिधिले जनताको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

त्यस्तै महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले जनताका अपेक्षा, सुझाव, गुनासा, विकास र सेवा प्रवाहको अवस्था तथा समुदायको असल अभ्यासबारे पार्टीले राम्रो अभियान थालेको बताउँदै पार्टीपंक्तिलाई एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए । उनले सहमति, सहकार्य र समन्वयबाटै नै पार्टी नेतृत्व र निर्वाचित जनप्रतिधि एकताबद्ध हुनुपर्नेका सुझाब दिए । अभियानअन्तर्गत वडाको पायक पर्ने स्थानमा वडाबासीसँग शिक्षा, स्वास्थ्य, प्रर्वाधार विकास लगायतका विषयमा खुल्ला छलफल राखी तीनवटै तहका सरकारसँगका जनताका अपेक्षा गुनासा र सुझाव सुन्नुका साथै पार्टीका बारेमा जनताका सुझाव लिइने उनले बताए ।

वडामा रहेका विभिन्न समूहसँग सामूहिक छलफल गरिने उनको भनाइ छ । वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापकलगायत आमा समूह, युवा क्लब, कृषक समूह, स्वास्थ्य समिति, व्यवसायी समूहसँग छलफल गर्न सकिने उनले बताए । अभियान अन्तर्गत कुनै एउटा निश्चित विषयसँग सम्बन्धित व्यक्ति, सम्बन्धित सरोकारवाला समूह, प्राज्ञ, सहिद परिवार वा अरु सम्बन्धित व्यक्ति वा समूहसँग छलफल गरिने उनले बताए । गाउँपालिका र नगरपालिका, वडास्थित सेवा प्रवाह केन्द्र, स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, विकास निर्माण योजना, समुदाय र निजी क्षेत्रको प्रयासमा भएका कामहरु लगायतको अवलोकन गरी सेवा प्रवाहको अवस्था बुझ्ने र समस्या सुन्ने कार्यक्रम अभियान अन्तर्गत रहने छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यमशिलता लगायतमा नागरिकले गरेका प्रयास र सफलताका कथा खोज्ने सुन्ने अवलोकन र संवाद गर्ने, वडा कार्यालयबाट हुने सेवा प्रवाहको अवस्था, समस्याका बारेमा सेवाग्राहीसँग संवाद तथा अन्तरक्रिया छलफल गर्ने कार्यक्रम गरिने छ ।