सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ६ स्थित पृथ्वीपुर गाउँमा  भलमनसा चयनको कार्य सुरु भएको छ ।

गाउँको नेतृत्व गर्नका लागि भलमनसा छान्ने चलन रहेको छ । माघ पर्वको अन्तिम दिन यो समुदायमा भलमनसा÷बडघर चयनको कार्य थाल्ने गरिन्छ ।

यस कार्यलाई खोज्नीबोज्नी÷भुराखेल पनि भन्ने गरिन्छ । भलमनसा चयनको कार्य माघ पर्वको अन्तिम दिन गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आआफ्नो गाउँको समयनुकूल भलमनसा चयन गरिन्छ ।

पृथ्वीपुर गाउँ सामाजको पुनः भलमनसा÷बडघर पदमा लहानु डगौरा, यस्तै चौकिदार पदमा सोन बहादुर चौधरी र गुरुवामा सोहान चौधरी  लाइ सर्व सहमतमा चयन गरेका छ्न ।

भलमनसा थारू समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरिका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमनसा चयन गरिन्छ । भलमनसाको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्म एक वर्षको हुन्छ ।

भलमनसा सहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः दोहो¥याउन सक्ने अधिकार गाउँवासीमा रहने गर्द छ । काम चित्त नबुझेमा गाउँवासीमध्येबाटै अर्को व्यक्तिलाई भलमनसा चयन गरिन्छ । भलमनसा बन्ने मौका जान्ने बुझ्नेलाई मात्रै नभई गाउँका सबै व्यक्तिलाई रहने गर्द छ । कतिपय गाउँमा यो भूमिकामा महिला पनि रहँदै आएका छन् ।

आफ्नो गाउँले माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर भलमनसा चयन गर्दै आएको बर्दगोरिया गाउँपालिका–६, पृथ्वीपुर  गाउँका भलमनसा लहानु डगौराले बताए । उनले भलमनसा प्रथा थारू समुदायको लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे । गाउँमा भलमनसासहित अघरिया (सहायक भलमनसा), सचिव, चौकीदार र लोहार चयन गर्ने गरिन्छ ।


अघरिया भलमनसाको सहायक हुन् । सचिवले गाउँको हरहिसाब राख्ने गर्दछन् । यसै गरी चौकिदारको भूमिका सन्देशवाहकको रूपमा रहेको हुन्छ । चौकिदारले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् । गाउँमा फलाम कुट्न लोहार राख्ने चलन छ ।