बौनिया । कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनसुरु भएको छ । बिहिबार पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले पानसमा दियो बालेर महाधिवेशनको सयुक्त रूपमा उद्घाटन गरेका हुन ।




उद्घाटन सत्रमा बोल्दै मन्त्री श्रेष्ठले जेल भित्रबाट खुलेको पार्टी अहिले नागरिकको मन मनमा बस्न सकेको दाबी गरिन । ‘टिकापुर घटनाको राजबन्दीको न्यायको लागि स्थापना भएको पार्टी अहिले जनताको मनमा बसेको छ’ उनले भनिन्, ‘जेलबाट खुलेको पार्टी हो अहिले देशै भरी पुगेको छ ।’ उनले सुरुवाती दिनमा उम्मेदवार समेत खोज्न समस्या भइरहेको स्मरण गर्दै अहिले तीनै तहको सरकारमा पार्टीको राम्रो उपस्थिति रहेको बताइन् । उनले अहिले पार्टीले सबै उत्पीडित वर्गहरूको पक्षमा पार्टीले वकालत गरिरहेको बताइन् ।




उद्घाटन सत्रमा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका थिए ।




‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’ उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’ उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन। फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’ आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत उनले बताए । सेती लोक मार्ग, रानिजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।




महाधिवेशनमा ५२ जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागी रहेका नागरिक उन्मुक्तिले जनाएको छ । तीन दिन चल्ने अधिवेशनले अध्यक्ष र ३९ पदाधिकारीसहित दुई सय ५६ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको सभापतित्वमा सुरु भएको महाधिवेशनमा प्रमुख अतिथी अध्यक्ष रन्जिता श्रेष्ठ र विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री नेपाल रहेका थिए । जनमत पार्टीका अध्यक्ष सिके रावतलगायत उद्घाटनमा सहभागी छन् ।