
अत्तरिया । कैलालीको अत्तरियामा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीको नृत्य समुहलाई ११ हजार १११ रुपैयाँ पुरस्कार दिइने भएको छ । अत्तरियाको लामिताल परिसरमा पुस २६ गते देखि सञ्चालन हुन लागेको महोत्सव अवधिमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पुरस्कार दिन लागिएको हो ।


विगतमा महोत्सवमा मुख्य कलाकार आउनु अघि स्थानीय विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्दै आएका भएपनि कुनै मल्याङ्कन नहुने गरेकोमा यस पटक उत्कृष्ट नृत्यलाई पुरस्कृत गर्न लागिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताए । उनले महोत्सव अवधिमा नृत्य प्रस्तुत गर्नका लागि ३६ वटा विद्यालयलाई आमन्त्रण गरिएको बताए ।




‘महोत्सव अवधिभर गरिने प्रत्येक नृत्यको जजको टिमले मल्याङ्कन गरेर उत्कृष्ट नृत्य छनोट गरिने छ’ उनले भने ‘विद्यार्थीहरूको कलाको सम्मान गर्न यो वर्ष पुरस्कारको व्यवस्था गरेका हौ ।’उनले महोत्सवमा उत्कृष्ट सँगै दोस्रो र तेस्रो हुने विद्यार्थीको नृत्य समुहलाई पनि पुरस्कार दिइने बताए । जसमा क्रमशः ६ हजार १११ र ४ हजार १११ रुपैयाँ तोकिएको छ ।

महोत्सवमा नृत्य प्रस्तुत गर्ने डान्स क्लवहरुलाई पनि पारिश्रमिकको व्यवस्था गरिएको छ । महासचिव खड्काले महोत्सवमा नृत्य प्रस्तुत गर्नको लागि ६ क्लबलाई १० हजारका दरले पारिश्रमिकको व्यवस्था गरिएको बताए ।

राष्ट्रिय कलाकारका लागि लाखौं रकम खर्च गरिएपनि स्थानीय कलाकारको वेवास्ता गरिएको गुनासो गरिदै आएकोमा यस वर्ष भने स्थानीय कलाकारले पनि थोरै भएपनि पारिश्रमिक पाउने उनले बताए ।

उनले महोत्सव स्थल पनि विगतका तुलनामा फरक तरिकाले डिजाइन गरिएको बताए । उनले महोत्सव स्थल पनि विगतको तुलनामा ठूलो बनाइएको बताए । हाल महोत्सव स्थलमा गेट निर्माण, स्टल निर्माणको काम धमाधम भइरहेको छ । माघ ७ गते सम्म सञ्चालन हुने महोत्सव स्थलको ९५ प्रतिशत तयारी पुरा भएको महासचिव खड्काले बताए ।

महोत्सवका १५० वटा स्टलहरू रहने जनाइएको छ । जसमा थारू गाउँ, होटल लगायतका स्टलहरू समेत समावेश गरिएका छन । महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले गर्ने आयोजकले जनाएको छ ।