के. आर. पाण्डेय, भजनी । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भजनी नगरपालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

CP-HOSPITAL

भजनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको उद्घाटन कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शुर्य बहादुर सिंहको अध्यक्षतामा भएको हो । कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कठायत ,वडा अध्यक्ष विक्रम चौधरी, केशव बुढा, धर्मेन्द्र श्रेष्ठ र संजीव चौधरी ,राजनीति दलका प्रतिनिधि, सुरक्षाकर्मी,विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार र संघ संस्थाका प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केवल चौधरीले विद्यार्थीलाई शिक्षा संगै खेलकुदमा सहभागिता गराउन आवश्यक रहेको बताउनुभयो। यस्तै उहाँले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँछ, जुन विद्यार्थीमा अनुशासन छ, उसले खेल संगै आफ्नो अध्ययन पनि सजिलै पुरा गर्न सक्छ भन्ने बताउनुभयो ।

रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी छनौटका लागि उक्त खेलको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शुर्य बहादुर सिंहले बताउनु भयो । खेलकुद कार्यक्रममा पालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालय गरी जम्मा ५४ वटा विद्यालयको सहभागिता रहेको छ । पौष २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रम पौष २७ गते सम्म संचालन हुने जनाइएको छ ।