बौनिया  ।कैलालीको चुरे गाउँपालिकाले गौरीगंगा नगरपालिका क्षेत्रसँग जोडिएका सिमामा बोर्ड लगाएको छ । लामो समयदेखीको गौरीगंगाबिचको सिमा विवाद समाधानका लागि चुरे गाउँपालिकाले आफ्नो क्षेत्रमा पालिकाको बोर्ड लगाएको हो ।

चुरे गाउँपालिका– ४ को सिमाक्षेत्रका विषयमा गौरीगंगा नगरपालिका र चुरे गाउँपालिका बिच विगत देखी नै विवाद रहदै आएको थियो । उक्त वडामा रहेका खोलानालाहरुबाट गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो ।

खोलानालाहरुबाट अवैध रुपमा हस्तक्षेपकारी ढंगले गौरीगंगाले नदीजन्य पदार्थ उत्खनन गरीरहेको र त्यसले चुरे क्षेत्रको दोहन तथा भुक्षय भई बस्ती विनास हुने समस्या आउन सक्ने भन्दै चुरे गाउँपालिकाले सर्वाेच्च अदालतमा मुद्धा समेत दायर गरेको थियो ।

उक्त मुद्धा हेर्दै अदालतले गत वर्ष पुष ४ गते चुरे गाउँपालिकाको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो । सोही आदेश पश्चात चुरे गाउँपालिकाले वडा नं. ४ का सिमाक्षेत्रमा बोर्ड लगाउने कार्य गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।