धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारले तयार पारेको ३४ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

प्रस्तुत नीति तथा कार्यक्रममा उद्यमशीलता विकास, रोजगारी एवम स्वरोजगारमूलक कार्यक्रम, औद्योगित जनशक्ति उत्पादन एवम् क्षमता विका कार्यक्रममा संचालन गरी प्रदेशको आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणमा टेवा पु¥याउने कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।



नीति तथा कार्यक्रममा आत्मनिर्भर प्रादेशिक अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने उल्लेख छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा चालु खर्चलाई वाञ्छित सीमाभित्र राखी पुँजीगत खर्चलाई बढावा दिने जनाएको छ ।
प्रदेश सरकारले बहुवर्षीय,क्रमागत र अधुरा एवम् दायित्व सिर्जना भएका आयोजनाको पुनावलोकन गरी तोकिएको समयमा सम्पन्न गर्न प्राथमिकता दिने जनाएको छ । त्यस्तै प्रदेश गौरव, रणनीतिक महत्व र रुपान्तरणकारी आयोजनाको सम्भाव्यता अध्ययन गरी आयोजना बैंकमा सूचीकृत गर्ने कार्यलाई पनि उच्च प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेम प्रमुख जोशीले नीति तथा कार्यक्रममा महालेखा परिक्षणले देखाएको बेरुजु फच्छ्यौट गर्न उच्च प्राथमिकता दिइने बताए । उनले राज्यस्व क्षमता विकास गर्ने कार्यक्रम संचालन गरिने बताए ।
कृषिमा ६ नारा र कार्यक्रम
नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषिको विकासका लागि ६ वटा नारा र कार्यक्रम अघि सारेको छ । जसमा ‘प्रदेश सरकार: कृषकको सहयोगी’, ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’, ‘व्यावसायिक कृषिका लागि शून्य व्याज’, ‘वृहत् एवम् विशेष उत्पादन तथा औद्योगिकीकरण कार्यक्रम’, ‘स्थानीय कृषिवस्तु उपभोग गरौं: खाद्य एवम् पोषण सुरक्षा सुनिश्चित गरौं’ र ‘एक स्थानीय तथा : एक कृषक पाठशाला’ को नारा तथा कार्यक्रम आगाडी सारिएको छ ।
नीति तथा कार्यक्रममा कृषकलाई दिइदै आएको सहायता तथा सहुलियतलाई उत्पादनमा आधारित तुल्याउन विद्यमान कार्यविधिमा संसोधान गरिने, कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण प्रवर्घनका कार्यक्रमलाई प्राथमिकता दिने, बाझो जमिन सहुलियतमा भाडामा दिने, गेटामा स्थापना भएको तरल नाइट्रोजन प्लान्ट संञ्चालनमा ल्याउने, महामारीजन्य रोगको रोकथामका लागि आकस्मिक उपचार एवम् जनचेतनाका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक जिल्ला एक उद्योग
प्रदेश सरकारले स्थानीय कच्चा पदार्थ र स्रोतको प्रयोग हुने गरी ‘एक जिल्ला ः एक उद्योग’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा जनाएको छ । जसका लागि सम्बन्धित जिल्ला तथा स्थानीय तह विशेष कृषि, वन, खानी तथा खनिज कच्चा पदार्थमा आधारित प्रशोधन केन्द्र तथा उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने विशेष सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
लगानीमैत्री वातावरण निर्माण गरी औद्योगिक प्रवद्धन गर्न संघ सरकार, सहकारी र निजी क्षेत्रसंग साझेदारी गरिने र, उद्योग क्षेत्रको विकासका लागि दश बर्षे औद्योगिक रणनीतिक योजना तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा युवा उद्यमशीलता विकास गर्न स्टार्ट अप उद्यम कर्जा कोष स्थापना गरी वैदेशिक रोजगारीबाट फर्किएका २०० जना युवालाई स्टार्ट अफ उद्यम कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
मोनोरेल देखि चिडियाखानाका योजना
नीति तथा कार्यक्रममा सुदूरपश्चिम सरकारले अत्तरिया धनगढी सडकमा मोनोरेल संचालन गर्नको लागि अध्ययन गर्ने जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख जोशीले गोदावरी अत्तरिया धनगढी चौराहा सडक खण्डमा मोनोरेल सेवा संचालनका लागि अध्ययन गरी सार्वजनिक निजी साझेदारीमा अगाडी बढाइने बताए ।
नीति तथा कार्यक्रममा अत्तरिया क्षेत्रमा चिडियाखाना स्थापना गरिने उल्लेख छ । अत्तरिया आसपास रुख विरुवा कम भएको तथा अतिक्रमणको जोखिम रहेको वन क्षेत्रमा संघ सरकारको समन्वयमा प्रदेश स्तरिय चिडियाखाना स्थापना गरिने प्रदेश प्रमुख जोशीले बताए । उनले चिडियाखानाको लागि आगामी आर्थिक बर्षमा क्षेत्र निर्धारण, सिमाङ्कन र गुरुयोजना तयार गरी आगामी आर्थिक बर्ष भित्र नै स्वीकृत गरी कार्य प्रारम्भ गरिने बताए ।
नीति तथा कार्यक्रमा सुदूरपश्चिमका चार जिल्ला बैतडी, अछाम, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रंगशाला निर्माण गरिने जनाइएको छ । यस्तै सुदूरपश्चिम सरकारले तीन नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने भएको हो । प्रदेश सरकारले नीजि कम्पनीहरुसँगको साझेदारीमा पर्यटकका लागि तीन नदीमा जल यातायात सञ्चालन गर्ने बताएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरुको विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पदमार्ग निर्माण गर्ने भएको छ । प्रदेशका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको सहज पहुँचका लागि बेस क्यापसम्म पदमार्ग निर्माण गर्ने प्रदेश सरकारले जनाएको हो ।