सागर चौधरी /बौनिया। कैलालीको टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ । अस्पतालले बिहान ८ बजेदेखि ४ बजेसम्म ओपीडी सेवा दिन थालेको हो ।

यसअघि बिहान १० बजेदेखि प्रदान गरिँदै आएको ओपीडी सेवा अहिले ८ बजेदेखि दिन सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस् भन्ने उद्देश्यले ओपीडी सेवा बिहानैदेखि सुरु गरिएको बताए । अस्पतालले जेष्ठ नागरिकलाई शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ ।