कैलाली र कञ्चनपुरमा लागूऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । खुला सीमानाका भएका कारण कैलाली र कञ्चनपुरमा लागूऔषधको कारोबार बढी हुने गरेको छ । छिमेकी मुलुक भारतबाट लागूऔषध यहाँ भित्रिने गरेको छ ।

जसका कारण ब्राउन सुगर लगायतका लागूपदार्थ प्रयोग गर्ने सानो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ । बढ्दो लागूऔषधको प्रयोगले चोरी, लुटपाट, कुटपिट, हत्या, बलात्कार जस्ता समाजमा आपराधिक घटना बढ्दै गएका छन् । लागूऔषध प्रयोगकर्ताका कारण समाज असुरक्षित बन्न थालेको छ । लागूऔषध प्रयोग गर्ने युवाहरूको समुह रातिसम्म चोक तथा मानिसहरूको आवत जावत कम हुने स्थानमा बसेर त्यहाँबाट हिँडडुल गर्ने मानिसहरूलाई लुटपाट गर्ने तथा जघन्य अपराध गर्ने कार्य गर्दछन् ।

यस्ता कयौं उदाहरणहरू पछिल्लो केही समययता सुदूरपश्चिम प्रदेशका यी दुई जिल्लाहरूमा घटिसकेका छन । लागूऔषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी जस्ता अपराधका घटना बढ्दै गएको प्रहरीको पनि बुझाई छ । आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैनन् । जसका कारण समाज बिथोलिने घटनाहरू घट्ने गर्दछन् ।

लागूऔषधको बढ्दो प्रयोगले समाज नै असुरक्षित हुँदै गएकाले यसको न्यूनिकरण गर्न जरुरी छ । राज्यका निकायले लागूऔषधको कारोबार र प्रयोगको नियन्त्रण प्रभावकारी ढंगले गर्न सकेको देखिँदैन । सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने ‘गिरोह’ सक्रिय रहेको छ । लागूऔषधको कारोबार गर्ने गिरोहले किशोर किशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेको छ ।

लागू पदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरूको संलग्नता रहने गर्दछ । प्रहरीले लागूऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिलाई समातेर कारबाही गर्न सकेको छैन । जसका कारण लागूऔषधको जालो भत्काउन सकिएको छैन । प्रहरीले लागूऔषधको मुख्य कारोबारीलाई पक्रन जरुरी छ ।

त्यसमा स्थानीयस्तरबाट पनि आवश्यक सहयोग गर्न आवश्यक छ । प्रहरी एक्लैले लागूऔषधको यो जालो भत्काउन सक्दैन । त्यसैले लागूऔषधको जालो भत्काएर समाजलाई शान्त बनाउन, बालबालिका तथा किशोरकिशोरीहरूलाई सुरक्षित बनाउन र उनीहरूको सुन्दर भविष्यको कल्पना साकार पार्न सबैले हातमा हात मिलाएर प्रहरीलाई साथ दिन जरुरी छ ।

लागू पदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोर किशोरीदेखि कलेज पढ्ने विद्यार्थीलाई समेत लतमा पारेर बिक्री गर्ने गर्दछ । तसर्थ सर्वप्रथम आफ्ना बालबालिकाहरू विद्यालय गएका छन वा छैनन्, उनीहरूको संगत कस्तो व्यक्तिसँग छ, आफ्ना बालबालिकाहरूको व्यवहारमा परिवर्तन आएको छ की ? भन्ने विषयमा अभिभावकहरूले निगरानी राख्न आवश्यक छ ।

विद्यालयस्तरबाट फैलिरहेको लागूऔषधको जालोलाई सखाप पार्न विद्यालयस्तरबाट नै ध्यान दिनुपर्ने अवस्था छ । विद्यालयमा शिक्षकहरूले पनि विद्यार्थीहरूको दैनिकीको बारेमा अभिभावकलाई जानकारी गराउने, विद्यालयमा लागूऔषधका नकारात्मक प्रभावहरुका बारेमा बालबालिकालाई जानकारी दिने लगायतका कार्य गर्नुपर्दछ ।

समाजमा डरलाग्दो रुपमा देखिएको लागूऔषधको समस्याको निराकरणका लागी सबैले ऐक्यवद्धता जनाउन आवश्यक छ । लागूऔषधको दुर्व्यसनको कारण धेरैको अकालमै ज्यान गइसकेको छ । कयौँको जीवन बर्बाद भएको छ । त्यसैले समयमै आफ्ना बालबालिकाप्रति ध्यान दिएर यसको न्यूनिकरणमा सहयोग गरौँ ।