बौनिया । कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भोलिदेखि ओपिडी सेवा सञ्चालन गरिने भएको छ । मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरेर ११ जना विशेषज्ञ चिकित्सक सहित ओपिडी सेवा सुरु गरिने जानकारी दिइएको हो । 

CP-HOSPITAL

ओपिडी सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २१ गते गरेको निर्णय अनुसार सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताए । 

उनले असोज १६ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रांकित तथा अधिकृत स्तरका ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएर २६ जना जनशक्ति अस्पतालमा हाजिर भएको बताए । 

भोलिदेखि सुरु हुने अस्पतालमा जनरल ओपीडी, हाडजोर्नी नथा नसारोग ओपीडी, स्त्रीरोग ओपीडी, जनरल सर्जरी ओपीडी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा, फार्मेसी सेवा सञ्चालन हुने जनाइएको छ । 

यस्तै कार्तिक  महिना भित्र एमसिएच क्लिनिक, मंसिर महिना भित्र खोप सेवा विस्तार, मंसिर मसान्त सम्म अन्तरङ्ग सेवा विस्तार, पुस महिना भित्र इमर्जेन्सी सेवा र प्रसुती सेवा विस्तार, चैत्र महिना भित्र शल्यक्रिया सेवा विस्तार, बैशाख भित्र आइसीयु तथा एनआईसीयू सेवा विस्तार गर्ने लक्ष्य लिइएको अस्पतालका निर्देशक जोशीले बताए । उनले बिमाबाट प्राप्त हुने सेवा प्रक्रियामा रहेको बताए ।