धनगढी ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज कैलाली आउन लागेका हुन् ।

जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि प्रधानमन्त्री लम्की प्रस्थान गर्ने छन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर उनी घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा सहभागी हुने छन् ।

त्यसपछि गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने तालिका छ । उनले दिउँसो २ बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री दाहाल आजै साँझ श्री एयरलाइन्सको उडानबाट काठमाडौं फिर्ता हुने तालिका छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था बलियो पारिएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन् ।