
बौनिया । थारु कल्याण कारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी विजयी भएका छन् । नागरिक समाजका अगुवा एवम् अभियन्ता दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन् । विजयी भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गरे ।

त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनी राम चौधरी र १५६ मतका साथ लक्ष्मण चौधरी विजयी हुनु भएको छ । तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला हुनु पर्दछ । महिला उपसभापतिमा सुस्मिता चौधरी यसअघि नै निर्विरोध चयन भइसक्नु भएको छ । उपसभापतिका उम्मेदवार बतासु चौधरी र मानबहादुर चौधरी पराजित भए।




सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी भएका छन् । अधिकारकर्मी बसन्ती चौधरीलाई पराजित गरी उनी विजयी भएका हुन् । पराजित चौधरीले १४३ मत प्राप्त गरे । यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्यप्रयासी चौधरी विजयी हुनु भएको छ । उनको प्रतिद्वन्द्वी सुनिता चौधरीले १३६ मत प्राप्त गरे । यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो ।अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि शनिवार निर्वाचन गरिएको हो ।

थारु समुदायको विशुद्ध हक अधिकारका लागि स्थापित सो संस्थाको अधिवेशनमा राजनीति हाबी भएको थियो । राजनीतिक आस्थाका आधारमा उम्मेदवार खडा गरिएपछि सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास विफल भएको थियो । निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका रहेको बताइएको छ ।