धनगढी । कैलालीको धनगढीमा आज बुधबार बाट हार्डवेयर एक्सपो मेला सुरु भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा हार्डवेयर एक्सपो २०८० आज बाट सुरु भएको हो। एक्सपोले कारोबारमा वृद्धि भई यहाँको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।




कैलाली हार्डवेयर व्यवसायी संघका अनुसार संघका सदस्य भएका चार सय २५ वटा हार्डवेयर पसलहरुको दैनिक १२ देखि १५ करोड रुपैयाँको निर्माण सामग्री खरिदविक्री हुने अनुमान गरिएको छ।




उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलालीका अनुसार जिल्ला भित्र एक हजार ९ सय ५७ वटा हार्डवेयरका पसल दर्ता भएर सञ्चालनमा छन्।ती पसलहरुमा तीन अर्ब ५६ करोड लगानी भएको छ।

ती पसलहरुबाट दैनिक १५ देखि २० करोड रुपैयाँको निर्माण सामग्री विक्री हुने गरेको अनुमान छ। प्रदेशभित्र निर्माण सामग्रीको खपत बढ्न थालेपछि धनगढीमा आजबाट हार्डवेयर एक्सपो–२०८० को तेस्रो श्रृंखला सुरु भएको हो।स्वदेश एवं विदेशी हार्यवेयर सामग्रीका विषयमा जानकारी दिने उद्देश्यले आजबाट १४ गतेसम्म चार दिन उक्त प्रदर्शनी धनगढीस्थित सौराई स्क्वायरमा सञ्चालन भइरहेको छ।

कैलाली हार्डवेयर व्यवसायी संघले २०७५ सालदेखि एक्सपोको आयोजना गर्दै आएको छ।निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपोमा ५० भन्दा बढी कम्पनी तथा व्यवसायीक फर्मका स्टलहरु अवलोकन गर्न सकिनेछ। कैलालीमा मात्र वार्षिक पाँच अर्ब मुल्य बराबरको हार्डवेयरका सामग्रीको व्यापार हुने गरेको अनुमान छ। प्रदेशभर झण्डै वार्षिक ८ अर्बको यस्तो कारोबार हुने गरेको अनुमान व्यवसायीको समाचार दिनेश खबरमा प्रकासित छ ।