वैशाख २८, काठमाण्डौ । एसईईको नतिजा प्रकाशनको तयारीका लागि सोमबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । प्राविधिक रूपमा कुनै त्रुटि नभेटिए आजै नतिजा प्रकाशित गरिने बोर्डका पदाधिकारीहरूले जनाएका छन् ।

CP-HOSPITAL

त्रुटि भेटिएर सच्याउन समय लागे ढिलोमा मंगलबारसम्म नतिजा प्रकाशित गरिने उनीहरूको भनाइ छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको तयारी बुझ्न बैठक बस्न लागेको र बोर्ड बैठकले नै नतिजा प्रकाशन कहिले गर्ने निर्णय लिने बताए । बैठकका लागि शिक्षा सचिव चुडामणि पौडेल सिंहदरबारबाट बोर्डको कार्यालय सानोठिमी पुगिसकेका छन् ।

शिक्षामन्त्री सस्मित पोखरेललाई सम्भव भएसम्म आजै नभए भोलिसम्म नतिजा सार्वजनिक हुने जानकारी बोर्डका अधिकारीहरूले दिएको उनको सचिवालयले जनाएको छ । ‘सकभर नतिजा आजै आउने कुरा छ नभए भोलिसम्म लाग्छ होला भन्ने जानकारी आएको छ,’ मन्त्रीनिकट स्रोतले भन्यो ।

कर्मचारीले नतिजा प्रकाशनको तयारी गर्ने र त्यसको जानकारी बोर्डका सदस्यहरूले लिएपछि नतिजा प्रकाशनको निर्णय हुने व्यवस्था छ । शिक्षा सचिव, पाठयक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय र अन्य विज्ञबाट पनि मनोनीत गरी बोर्डको गठन गरिएको हुन्छ । ‘नतिजा प्रकाशन तयारीको बैठक बस्दै छौं । सबै तयारी ठीकठाक भेटिए आजै नतिजा आउने सम्भावना धेरै छ । नभए भोलिसम्म सार्वजनिक गर्ने कुरा छ,’ बोर्डका एक सदस्यले भने ।

सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । चैत २९ गते एसईईको परीक्षा सकिएको थियो । चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो ।