वैशाख २३, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु सम्बन्धी विश्लेषण सेवाहरूलाई थप प्रभावकारी र स्तरीय बनाइने बताएका छन्।




मन्त्री श्रेष्ठले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अवलोकन गर्दै विभागको वर्तमान अवस्था र कार्यप्रणालीबारे जानकारी लिएका हुन्। अनुगमनका क्रममा उनले सेवा प्रवाहलाई अझ सुदृढ बनाउन आवश्यक सुधारका पक्षमा ध्यान केन्द्रित गरिएको बताए।



सो अवसरमा विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागबाट सञ्चालन भइरहेका गतिविधि तथा सेवा प्रवाहका विषयमा मन्त्रीलाई विस्तृत जानकारी गराएकी थिइन्। उनले हालका पूर्वानुमान प्रणाली प्रभावकारी बन्दै गएको उल्लेख गर्दै यसलाई अझ परिष्कृत र भरपर्दो बनाउन निरन्तर सुधार आवश्यक रहेको धारणा राखिन्।
मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी सेवाहरू विपद् व्यवस्थापन र पूर्वसूचनामा अत्यन्त महत्वपूर्ण भएकाले यसको गुणस्तर वृद्धि सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्।














