वैशाख २३, सुखड । घोडाघोडी नगरपालिका–१, सुखडस्थित श्री न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ।

Oplus_16908288

शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह गरेअनुसार ग्रामीण शिक्षा बिकास कोषमा जम्मा गर्नेगरी जम्मा १५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्दै आवेदन मागेको हो। विद्यालयमा हाल करिब ९७० विद्यार्थी अध्ययनरत रहेको सन्दर्भमा यो संख्या कुल विद्यार्थीको १३.५ प्रतिशत हुन आउँछ। बाँकी १.५ प्रतिशत बराबरको रकम भने सम्बन्धित कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको विद्यालयले जनाएको छ।

नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार ५०० सम्म विद्यार्थी संख्या भएका विद्यालयले १० प्रतिशत, ८०० सम्म भएका विद्यालयले १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार न्यु स्टारले छात्रवृत्ति सुनिश्चित गर्दै आएको बताइएको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार जेहेन्दारतर्फ ३७ प्रतिशत (४८ जना) र विपन्नतर्फ ३६ प्रतिशत (४७ जना) सबैभन्दा बढी कोटा छुट्याइएको छ। त्यस्तै जनजातितर्फ १० प्रतिशत (१३ जना), दलिततर्फ ५ प्रतिशत (६ जना), अपाङ्गतर्फ ३ प्रतिशत (४ जना), जनआन्दोलनका घाइतेतर्फ ३ प्रतिशत (४ जना), शहीद परिवारतर्फ २ प्रतिशत (३ जना), बेपत्ता परिवारका सन्ततितर्फ २ प्रतिशत (३ जना) तथा मधेश आन्दोलनका घाइतेका सन्ततितर्फ २ प्रतिशत (३ जना) कोटा निर्धारण गरिएको छ।

यसरी समूहगत सिट र प्रतिशत नै खुलाएर आवेदन माग्नु पारदर्शिता र समावेशी अभ्यासको उदाहरण भएको सरोकारवालाहरूको भनाइ छ। यसले वास्तविक लक्षित वर्गका विद्यार्थीलाई अवसर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। आवेदन दिन इच्छुक विद्यार्थी तथा अभिभावकले सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमै निवेदन पेश गर्नुपर्नेछ। आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस/प्रमाणपत्र तथा आवश्यक परेमा अभिभावकको मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

विद्यालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी(पिआर)का अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिनेछ। लिखित तथा मौखिक परीक्षाको मिति पछि सार्वजनिक गरिनेछ। न्यु स्टारले यस कदममार्फत छात्रवृत्ति वितरणलाई अझ पारदर्शी, प्रतिस्पर्धात्मक र लक्षितमुखी बनाउने प्रयास गरेको जनाएको छ।