गुल्मी । जिल्लाको गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक अन्तर्गत सिस्ने भीर खण्ड आजदेखि एक महिनाका लागि पूर्णरूपमा बन्द भएको छ । सत्यवती गाउँपालिकाको सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम थालिएको र आजदेखि यो महिनाभर सडक बन्द गर्ने यसअघि नै निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।



सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार अति संवेदनशील र साँघुरो ठाउँ सिस्ने भीरमा सडक काँटछाँट गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकोले सम्भावित दुर्घटनालाई ध्यानमा राखेर सडक बन्द गरिएकाे हाे ।
प्रशासनले अबको एक महिना वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रूपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रूपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिन्छ ।
यसअघि सडक डिभिजन कार्यालय पाल्पाले गएको माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रूपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।















