बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।

CP-HOSPITAL

उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले बर्दगोरिया क्षेत्र र नेपाली कांग्रेस वृत्तमा अपूरणीय क्षति पुगेको छ। उनि २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। संघीयता कार्यान्वयनको सुरुवातमा नयाँ संरचना अनुसार गाउँपालिकालाई जगैदेखि संस्थागत गर्न र विकासका योजनाहरू अघि बढाउन उनले अभिभावकीय भूमिका निर्वाह गरेका थिए। उनी स्थानीय स्तरमा एक शालीन, मृदुभाषी र विकासप्रेमी नेताका रूपमा परिचित थिए।

पारिवारिक स्रोतका अनुसार स्व. थारुको पार्थिव शरीरलाई शनिबार नै कैलालीको चिसापानीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। उनको अन्तिम बिदाइमा पार्टीको चारतारे झण्डा ओढाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय बहादुर स्वाँर, हेम बहादुर रावल सहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो ।