कैलाली। कैलाली सहित तराई क्षेत्रमा दुई दिनदेखि पुनः बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँ आज बिहीबार पनि बिहानैदेखि १०० मिटर अगाडिको दृश्यसमेत देख्न मुस्किल पर्ने गरी बाक्लो मात्रामा हुस्सु लागेर स्याँठ चलिरहेकाले स्थानीयले चिसो महसुस गरेका छन् । यसअघि बुधबार पनि बिहानभर यसैगरी बाक्लो हुस्सु, कुहिरो लागेकोमा दिउँसोपख भने उघ्रिएर घाम लागेको थियो ।



सुदूरपश्चिममा यो वर्ष पुस महिनाभर नै शीतलहर चलेको थियो । लामो शीतलहरका कारण जनजीवन प्रभावित हुनुका साथै तोरी, आलुलगायतका दलहन तथा तेलहन बालीको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
माघ लागेपछि गर्मी चढ्दै गइरहेकोमा बुधबारदेखि पुनः बाक्लो, हुस्सु कुहिरो लाग्न थालेको हो । हुस्सु, कुहिरोका कारण विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, दीर्गरोगी, मजदुर, किसान र अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका छन् ।
यस्तो मौसममा पशु, चौपायलाई सुरक्षित राख्न र घाँस, कुँडो गर्न समस्या पर्ने गरेको गुनासो छ । हुस्सु, कुहिरोले गोलभेँडासहितका अन्य तरकारीमा बालीमा डण्डीजन्य सङ्क्रमणले भेट्ने किसानले गुनासो गरेका छन् ।
बाक्लो हुस्सु, कुहिरो लागिरहेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधनहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।













