कैलाली । अति विपन्न नागरिकलाई चिसोबाट बचाउने उद्देश्यले एकीकृत विकास फाउन्डेसनले कैलालीले गत बिहीबार न्यानो कपडा वितरण गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का अति विपन्न ५ परिवारलाई ब्लाङकेट तथा वडा नम्बर ६ का अति विपन्न २० परिवारका बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको संस्थाकी अध्यक्ष रेखा बुढा थापाले जानकारी दिएकी छन् ।

ब्लाङकेट तथा न्यानो लुगा पाएपछि स्थानीय लाभग्राहीहरूले संस्थालाई धन्यवाद दिएका छन् । “बाक्लो सिरक किन्ने पैसा नहुने त्यसैले चिसोमा थुरथुर काम्दै दिन काट्नु पर्ने अवस्था थियो । तर यो पटक त ब्लाङ्केट पाइयो सारै खुसी लाग्यो । रेखा मेडमलाई धन्यवाद छ ।” ब्लाङ्केट लिँदै गरेका एक वृद्धले भने ।

समुदायमा रहेका अति विपन्नहरूको पिडा देख्न नसकेर आफूले आर्थिक जोहो गरेर बेलाबेला सहयोग गर्ने गरेको संस्थाकी अध्यक्ष थापाको भनाई छ । उनले भनिन्.., “हाम्रो संस्थाले भर्खर भर्खर समुदायमा काम गर्न थालेको हो । अहिले नै धेरै श्रोत छैन तर पनि मैले आर्थिक जोरजाम गरेर सहयोग गरी हुँ । यही समाजका लागि बाच्ने मेरो प्रण छ । आगामी दिनमा पनि आवश्यकताको आधारमा सहयोग गर्ने नै छु ।”

संस्थाकी अध्यक्ष थापा पछिल्लो समय मोहन्याली जनताको सेवा तथा गाउँ ठाउँको विकासमा निकै सक्रिय छन् । यस अघि पनि उनले यस्ता सहयोगहरू गर्दै आएकी छन् ।