काठमाण्डौ । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन भएको छ । राति १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो । सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

सेना परिचालन भएसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएको छ । काठमाडौं उपत्यकासहित देशभरको अवस्था सामान्य बन्दै गएको नेपाली सेनाले जनाएको छ । लुटपाट र आगजनी गर्नेहरू पक्राउ परेका छन् ।
बानेश्वरमा राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना पक्राउ परेका छन् । सेनासँगै सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि काठमाडौँका सडकमा खटिएका छन् भने सुरक्षाकर्मी शान्ति र अमयचयनका लागि प्रयासरत छन् ।
सेनाले अराजक गतिविधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।

यस्तै, नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् । अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानूनी शासन स्थापित गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।

जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोडका घटना भएका छन् । संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबारदेखि सर्वोच्च अदालत र कैयन् सरकारी र निजी संस्थामा आगजनी भएका छन् ।