काठमाण्डाै । एशिया कप टी–२० क्रिकेटका लागि ओमानको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि ओमानले १७ सदस्यीय टोली घोषणा गरेको हो ।



टोलीका कप्तानमा जतिन्दर सिंह रहेका छन् । टोलीमा परेका ४ जना खेलाडी अन्तर्राष्ट्रिय डेब्यु गर्ने तयारीमा छन् । ओमानले पहिलो पटक एशिया कप खेल्न लागेको हो । ओमानका मुख्य प्रशिक्षक दुलीप मेन्डिसले टोलीले के हासिल गर्न सक्छ भनेर हेर्न उत्साहित रहेको बताउनुभएको छ ।



एशिया कपका लागि यसअघि भारत, पाकिस्तान, बङ्गलादेश र हङकङले टोली घोषणा गरिसकेका छन् । अब श्रीलङ्का र यूएईले टोली घोषणा गर्न बाँकी छ ।



८ वटा देश सहभागी एशिया कप आउँदो सेप्टेम्बर ९ देखि २८ सम्म हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का छन् ।


