धनगढी । कैलाली कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संगठनको अध्यक्षमा टेक बहादुर देउवा चयन भएका छन् । कैलालीको गोदावरी– ८ मा मजगाउँमा रहेको संस्थाको कार्यालयका बुधबार बसेको बैठकले देउवालाई संगठनको अध्यक्षमा चयन गरेको हो ।



यस अघि यही साउन १५ गते संस्थाको १६औ साधारण सभा तथा चौथो अधिवेशनले ११ जना प्रतिनिधि छनौट गरेको थियो । संगठनमा दुवै जिल्लाका २१६ वटा ग्रामिण विद्युत सहकारी संस्थाहरु आवद्ध रहेका छन । जसलाई ११ निर्वाचन क्षेत्रमा बाडिएको छ । उक्त ११ वटा निर्वाचन क्षेत्रबाट १/१ जना प्रतिनिधिहरु छनौट गरिएकोमा देउवालाई अध्यक्षमा चयन गरिएको हो ।



देउवा सोही वडामा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका छन । बुधबारको बैठकले ११ जनै प्रतिनिधीबाट समिति गठन गरेको थियो । देउवाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद भट्ट, सचिवमा नरेश राज भट्ट, कोषाध्यक्षमा तारा देवी बम र सहसचिवमा नारायण ओझा चयन भएका छन । यसैगरी सदस्यहरुमा कृष्ण बहादुर खत्री, गणेश दत्त भट्ट, कृष्ण प्रसाद कडेँल, सीताराम थारु, ईश्वर प्रसाद जोशी र गोबिन्द ओली चयन भएका छन ।





