मुम्बई । वर्षाको कारण केही समय यताबाट भारतीय बक्स अफिस सुस्ताएको थियो । बालिउड चलचित्र ‘‘सैयारा’’ले यति बेला त्यहाँको देशी बक्स अफिसमा उछाल ल्याएको छ । मोहित सूरीले निर्देशन गरेको चलचित्र सैयारा शुक्रवारबाट भारत सहित विश्वव्यापी रूपमा रिलिज भएको हो ।



यो चलचित्रले घरेलु बजारमा तिन दिनमै ८३ करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्रले रिलिज भएको तेस्रो दिन आइतबार मात्र भारतमा ३५.७५ करोड रुपैयाँको व्यापार ग¥यो । चलचित्रले नसोचेको सफलता हासिल गर्दा यो चलचित्रका कलाकार देखि निर्माण टिमसम्म अहिले पुलकित छन् । चाडपर्व नभएको बेलामा पनि प्रचार प्रसार तीव्र नगरिएको चलचित्रले साउनको दैनिक झरीमा के व्यापार गर्ला र भन्ने समीक्षकहरूको अनुमानलाई यति बेला सैयाराले गलत साबित गरिदिएको छ ।



यो चलचित्रका मुख्य अभिनेता र अभिनेत्री दुवै नयाँ हुन् । अभिनेता आहान पाण्डे र अभिनेत्री अनित पड्डाको यो डेब्यु चलचित्रलाई दर्शकले पहिलो दिनबाटै मन पराए । फलस्वरूप यो चलचित्रले पहिलो दिन शुक्रवार भारतमा २१.५ करोडको व्यापार गरेको थियो । पहिलो दिनको ‘माउथ पब्लिसिटी’ले दोस्रो दिन शनिवार चलचित्रको व्यापार माथि उठ्यो । जसका कारण यो चलचित्रले दोस्रो दिन भारतमा २६ करोडको व्यापार ग¥यो । दुई दिनको सफलता पछि आईतबार तेस्रो दिन चलचित्र घरमा उछाल आयो । बलिउड बक्स अफिस ट्रेड पोर्टल स्याकनिल्क डट कमका अनुसार आइतबार यो चलचित्रले ३५.७५ करोडको व्यापार गर्दै तीन दिनमै स्वदेशी बजारमा ८३ करोड रुपैयाँको आँकडा बनायो । तीन दिनको व्यापारिक अवस्था हेर्दा चलचित्र सैयारा चौथो दिनमै एक सय करोडको हाराहारीमा पुग्ने बक्स अफिस ट्रेन्डले देखाएको छ ।



चलचित्र सैयाराले रिलिज भएको तेस्रो दिनमै हिट चलचित्रको उपमा पाइसकेको छ । यो चलचित्र कुल ४५ करोडको लागतमा चलचित्र घरसम्म रिलिज भएको थियो । रिलिज भएका तेस्रो दिनमै चलचित्रको लागत उठेको यसका निर्देशक सुरीले बताएका छन् । आफ्नो चलचित्रले यही रफ्तारमा व्यापार गरेको खण्डमा स्वदेशी बजारबाटै २०० करोड रुपैयाँको व्यापार नघाउने उनको विश्वास छ ।



निर्देशक मोहित सुरीको भनाइमा उनी यो चलचित्रलाई ‘‘आशिकी ३’’को रूपमा ल्याउन चाहन्थे । आफ्नो अघिल्लो चलचित्र ‘‘आशिकी २’’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनले वर्षौँ लगाएर यो चलचित्रको तयारी गरेका थिए । तर निर्माण संस्था टि सिरिजले उनलाई आशिकी ३ नाम दिन अस्वीकार गरेपछि चलचित्रको नाम उनले सैयारा राखेर निर्माण गरे । पूर्ण प्रेम कथामा आधारित चलचित्र भएकै कारण उनले यसमा कलाकार पनि नयाँ नै राखे । जसका कारण यति बेला दर्शकहरू यो चलचित्र हेर्न उत्साहित छन् । चलचित्रको अनपेक्षित सफलताले निर्देशक मोहित सुरी पनि त्यत्तिकै उत्साहित छन् ।
चलचित्र आशिकी २ बाटै प्रेम कथामा आफूलाई उत्कृष्ट निर्देशक साबित गरेका मोहित यो चलचित्रबाट पनि सोही सफलता हासिल गर्नेमा विश्वस्त थिए । नभन्दै उनले यो चलचित्रबाट पनि आफूलाई प्रेम कथालाई जीवन्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमतावान् निर्देशकको रूपमा प्रमाणित गरेका छन् ।
पहिलो चलचित्रबाट अभिनेता अहान र अभिनेत्री अनित पनि अहिले स्टार साबित भएका छन् । उनीहरूको जोडीलाई दर्शकले पर्दामा खुबै मन पराएका छन् । अभिनेता चंकी पाण्डेका भतिजा अहान लामो समयदेखि चलचित्रमा डेब्यु गर्ने पर्खाइमा थिए । लामो तयारी पछि चलचित्रमा उत्रिएका उनले आफूलाई पहिलो चलचित्रबाटै सविता गरेका छन् । यस्तै अभिनेत्री अनित पड्डाले व्यबसायिक मोडलिङबाट यात्रा सुरु गरेर चलचित्रमा आउन ठुलो तयारी गरिरहेकी थिइन् । उनी पनि पहिलो चलचित्रबाटै सफल साबित भएकी छिन् ।