धनगढी । सुदूरपश्चिम प्रदेशको कला, साहित्य र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुयाउँदै आएका थारु चलचित्र उद्योगका अभिनेता संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।



२१२ औं आदिकवि भानु जयन्ती तथा साहित्यिक–सांस्कृतिक उत्सवको अवसरमा आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा उनलाई नाट्य तथा चलचित्र विधा अन्तर्गत नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।



सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले थारु भाषा, कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा संगत थारुको विगत अढाई दशकदेखिको निरन्तर सक्रिय योगदानलाई उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ । संगत थारुले थारु समाजका मौलिक कथा, संघर्ष र पहिचानलाई विभिन्न नाटक, चलचित्र, गीत तथा मञ्चनमार्फत जनचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।



पुरस्कार वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले संगत थारुलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, कला, संगीत, नाटक, चलचित्र लगायत विविध विधामा क्रियाशील प्रतिभाहरूलाई प्रादेशिक स्तरमा सम्मान र प्रोत्साहन गर्दै आएको छ ।


