काठमाण्डौ । २८ वर्षीय पोर्चुगिज तथा इंग्लिस क्लब लिभरपुलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा परी निधन भएको छ।



स्पेनको सामोरा प्रान्तमा भएको उक्त दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि ज्यान गएको बीबीसीले जनाएको छ। २६ वर्षीय आन्द्रे सिल्भा पनि पेशागत फुटबल खेलाडी थिए र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफिएलका लागि खेल्ने गर्थे।



जोटाले गत महिना मात्र आफ्नी दीर्घकालीन साथी रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।
उनले जुन २२ मा भएको विवाह समारोहका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेका थिए। जोटाले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि जित्न सहयोग गरेका थिए र गत महिना अर्थात जुनमा भएको नेशन्स लिगको उपाधि जिताउन टिमका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।



उक्त दुर्घटना स्थानीय समयअनुसार राति करिब १२:३० बजे भएको जनाइएको छ। जसमा उनीहरू सवार लाम्बोर्गिनी कार एक अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा टायर पम्चर भएर सडकबाट उछिट्टिएको थियो। त्यसपछि कारमा आगलागी भएको र दुवै जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।


