काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो ।

‘राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,’ स्रोतले भन्यो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।

यसअघि सरकारमा सहभागी हुन जनमतले अनितादेवी साहलाई सिफारिस गरेको थियो । स्रोतका अनुसार जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मागेको छ। अहिले माओवादीका अमनलाल मोदी यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री छन्।