भजनी । भजनी नगरपालिका वडा नं ८ कैलालीले बाटो मर्मत तथा कुला नाला सफाई गरेको छ । विगत केही दिन देखि परेको अविरल वर्षाका कारण डुबानमा परी बिग्रेको बाटो तथा पुरिएका कुलो सफाई गरिएको हो ।

भजनी क्षेत्र हरेक वर्ष बाढीले दुःख पाउँदै आएको छ । बाढीले गर्दा अहिले पनि भजनी क्षेत्रका डुबानमा परेका जनताहरु रोडमा बास बस्न बाध्य रहेका छन् । भजनी नगरपालिका का धेरै वडामा बाढीले क्षति पुर्याएको छ । जस अन्तर्गत भजनी ८ मा बाढीले गर्दा पक्की सडक पनि भत्किएको छ ।

अहिले भत्किएको बाटो मर्मत तथा पुरिएको नाला सफाई गरी खोल्ने काम गरिएको भजनी नगरपालिका वडा नं -८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिनुभयो । बाढीले भत्किएर बन्द भएको सडक वडाको पहलमा जेसिबि मसिनको प्रयोग गरी मर्मतको काम भइरहेको र बिग्रिएको अन्य ठाउँमा पनि मर्मतको काम गरिने वडा अध्यक्ष चौधरीले बताउनु भएको छ ।

बाढीले वडा नम्बर -८ मा मात्रै करिब ६०० घर डुबानमा परेको जनाइएको छ ।