म्याग्दी। अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको बेंसी गाउँमा पाहुनाको स्वागतका लागि मादले–मारुनी नाच प्रदर्शन गरिएको छ । गाउँपालिका भित्र रहेका पुख्र्यौली नृत्य समूहहरुले मादले–मारुनी नाचको प्रदर्शन गरेका हुन ।

अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवको तेस्रो दिन पदयात्री, पर्यटक र पाहुनाको स्वागतका लागि सोमबार मगर समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचअन्तर्गत रहेको मादले–मारुनी नाच प्रस्तुत गरिएको हो ।

परम्परागत मौलिक संस्कृतिको संरक्षण तथा अन्नपूर्ण हीरक महोत्सवका अवसरमा आएका पदयात्री, पर्यटक तथा पाहुनाको स्वागतका लागि गाउँपालिकाले पुख्र्यौली नृत्यको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भोलि जेठ २० गते पनि मादले–मारुनी नाच प्रदर्शन गरिने पालिका अध्यक्ष पुनले बताउनुभयो । नृत्यमा पालिकाका विभिन्न सातवटा वडाका पुख्र्यौली समूहहरुको सहभागिता रहेको पुख्र्यौली नाचका संयोजक तथा वडा नम्बर ४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिनुभयो । सातवटा समूहका नाच्ने, गाउने र बजाउने गरेर एकसय पचासभन्दा बढी कलाकारहरुले सहभागिता जनाएका छन् ।

मगर समुदायको मौलिक कला संस्कृति झल्किने मौलिक पोसाकमा सजिएर युवाहरुले मारुनी–मादले नाच प्रस्तुत गरेका छन् भने पाका पुस्ताका पुरुष र महिलाहरुले गीत गाएर साथ दिएका छन् ।

संस्कुतिको संरक्षण, स्थानीय कलाकारहरुलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिको बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले अन्नपूर्ण हीरक महोत्सवका अवसरमा मादले–मारुनी नाचको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पहिलो पटक अन्नपूर्ण आरोहण क्षेत्रमा जेठ १७ देखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाइँदैछ ।