काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

CP-HOSPITAL

यसबारे प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले कीर्ते कागजात बनाउनेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री रहेका छन् ।

उनीहरूले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ।