काठमाण्डाै । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाण्डाैमा शुरू भएको छ । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजश्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक शुरू भएको हो ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बैठकमा दुई देशका भन्सार कार्यालयहरूबीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रूपमा उपलब्ध गराउनेबारे छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार दुई देशका अधिकारीहरूबीचको बैठकमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट) लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्नेलगायतका विषयमा समेत छलफल हुनेछ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजश्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गर्नुभएको छ ।