बर्दगोरिया । श्री साईनिङ स्टार एकेडेमीले आफ्नो ८औं वार्षिक उत्सव मनाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुरमा रहेको विद्यालयले आज एक भव्य समारोहका बिच ८औं वार्षिक उत्सव मनाएको हो ।

विद्यालयका प्रधानाध्यापक गोकुल साउदको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक सदस्य भरत ताम्राकारले स्वागत मन्तव्य बाट सबैलाई स्वागत गरेका थिए । वार्षिक उत्सव समारोहको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । प्रमुख अतिथि कुँवरले आफू निर्वाचित भइसकेपछि विशेषगरी शिक्षा स्वास्थ्यका क्षेत्रलाई अगाडि बढाएको बताए स्वास्थ्य क्षेत्रमा दोदोधरा अस्पतालमा सुविधा सम्पन्न सेवा सहित एमविविएस डाक्टर तथा एमडीजिपी डाक्टरहरुबाट सेवा दिइरहेको बताए ।

खानेपानीको सन्दर्भमा अबको एक वर्षभित्र पलिकाभरीका जनताले शुद्ध खानेपानी पिउन मिल्ने प्रतिबद्धता पनि जनाए यस्तै हाल आएर गाउँपालिका भित्रका कुनैपनि नागरिकहरुको मृत्युबरण हुँदा काजक्रिया गर्न सहजता होस् भनेर कृयाखर्च बाफत पालिकाले दश हजार रुपैयाँ सहयोग सँगै आर्यघाट सम्म लैजानका लागि सबवाहनको सुरुवात गरेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गणेश राज गिरीले अहिलेको आवश्यकता व्यावहारिक शिक्षाको रहेको बताए विद्यार्थीले आफ्नो जीवनमा सफल हुनका लागि विशेषगरी सैद्धान्तिक शिक्षा भन्दा प्रयोगात्मक तथा व्यावहारिक शिक्षा आवश्यक रहेको उनले बताए ।

स्थापनाको छोटो समयमा थुप्रै अभिभावकको माया पाइरहेको विद्यालयका संस्थापक तपेन्द्र खड्काले बताए । अभिभावकहरुको यस्तै साथ सहयोग रहे आगामी शैक्षिकसत्र देखि पुर्नरुपमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने समेत योजना रहेको उनले बताए । विद्यालयले स्थापनाकाल देखि अति विपन्न गरीब परिवारका निश्चित कोटा बनाई निःशुल्क छात्रवृत्तिमा अध्यापन गरिरहेको र अहिले पनि छरछिमेकमा त्यस्ता गरीब विपन्न परिवारका बालबालिका भए आफ्नो विद्यालयमा अध्ययनका लागि पठाइदिन सम्पूर्ण अभिभावकहरुलाई उनले आग्रह गरे ।

यस्तै विद्यालयको स्थापनाकाल देखि विद्यालयलाई महत्वपूर्ण सहयोग पुगाएका विभिन्न अभिभावकहरुलाई दोसल्ला ओढाई सम्मान-पत्रले सम्मान पनि गरेकोछ ।