धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। सोमबार बिहानदेखि प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ।

हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो ह्वात्तै बढेको छ। सदरमुकाम खलङ्गासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरि चिसो बढेको छ ।

आइतबार रातिदेखि बाजुराको बडिमालिका, बुढीनन्दा, जगनाथ मिली स्वामिकार्तिकलगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि अहिले यहाँको जनजीवन निकै प्रभावित भएको छ। यहाँ बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको छ।

त्यति मात्र होइन बाहिर हिउले पूरै जमिन पुरेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई समेत चरिचरन गर्न तथा घाँसपात गर्न समेत निकै समस्या भएको छ।

यस्तै, डडेल्धुराका विभिन्न क्षेत्रमा पनि हिमपात भइरहेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकाको साहुखर्क, हगुल्टे तथा जिल्ला सदरमुकाम क्षेत्रमा हिमपात भएको छ।

यस्तै, डोटीमा पनि सोमबार बिहान हिमपात भएको छ। जिल्लाको बडीकेदार गाउँपालिकाकसंगै खप्तड क्षेत्रमा पनि हिमपात भएको छ। बैतडीको सिगास, श्रीभावर, सतबाँझ, खोड्पे लगायतका उच्च स्थानमा हिमपात भएको छ।

वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको समयमा वर्षा र हिमपात भएपछि किसानहरू खुसी भएका हुन्।