साउन ७, कैलाली । ग्रामीण क्षेत्रलाई सहरसँग जोड्न कैलालीको धनगढीमा ‘जिपिएस’ जडान नगर बस सेवा सुरु हुँदैछ । यसका लागि उपमहानगरपालिकाले सुविधासम्पन्न ६ वटा बस खरिद गरेको छ ।



बस सञ्चालनका लागि बोलपत्र आह्वान समेत भइसकेको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर १–फूलबारी बसपार्कबाट धनगढी सहिद गेटसम्म नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइएको छ । फूलबारी–धनगढी–सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमासमेत नगर बस सेवा विस्तार गरिने नगरप्रमुख गोपाल हमालले बताउनु भयो ।



‘पहिलो चरणमा फूलबारी बसपार्कदेखि धनगढी सहिद गेटसम्म नगर बस चलाउन बोलपत्र आह्वान गरेका छौँ । ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा चलाउन खोजेका छौँ’, नगर प्रमुख हमालले भन्नुभयो, ‘ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस चलाउन खोजिएको हो ।’
विद्यालय र कलेज पढ्न आउने विद्यार्थीहरूले घरबाटै पढ्न आउन सहज होस् भनेर नगर बस चलाइन लागेको हो । यस्तै, गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रबाट नगर बस सेवा चलाउने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख हमालले बताउनु भयो ।


बसमा सिसिटिभी क्यामेरा र जिपिएस जडान
उपमहानगरपालिकाले खरिद गरेका ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको छ । यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज होस् भनेर जिपिएस प्रणाली जडान गरिएको नगरप्रमुख हमालले बताउनु भयो । सम्भावित आगलागीबाट बच्न हरेक बसमा अग्नि नियन्त्रण यन्त्र राखिएको छ भने चालकलाई बस रोकाउन घण्टी बजाउन मिल्ने स्वीच राखिएको छ ।


सांस्कृतिक पहिचान झल्कने पेन्टिङ
नगर बसलाई वातावरणमैत्री बनाउन हरियो रङको पेन्टिङ गरिएको छ । बसमा धार्मिक स्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले बताउनु भयो ।
कैलारीदेखि अत्तरियासम्मै चलाउने योजना
नगरप्रमुख हमालले पहिलो चरणको बस सेवा सफल भए कैलालीको कैलारी गाउँपालिकादेखि गोदावरीको अत्तरियासम्म नगर बस चलाउने योजना रहेको बताउनु भयो । उहाँले फूलबारी–धनगढी नगर बस सेवा सफल भए वडा नम्बर १६ को उर्मा लगायतका ग्रामीण क्षेत्रमा पनि विस्तार गरिने बताउनु भयो । ग्रामीण भेगमा सस्तो, सहज र सर्वसुलभ यातायात सेवा प्रदान गर्न नगर बेस सेवा चलाउन लागेको उपमहानगरपालिकाले जनाएको छ ।