
सागर चौधरी/ बौनिया । हरडहुवा पर्व धान रोपाइ सकिएको खुसीयालीमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुर गाउँ सामाजले सामूहिक रूपमा खानपान, नाचगान गरी पर्व मनाइरहेका छन् ।



धान रोपाई सकिनै लाग्दा विविधताले भरिएको यहाँको पश्चिम नेपालको गाउँ बस्तीहरूमा फरक–फरक संस्कृतिको रौनक छाएको छ । एकातिर धान रोपाइपछिको हरडहुवा पर्वको रौनक थपिएको छ, भने अर्कोतिर साउने सङ्क्रान्तिको रौनक छ ।

विशेष गरी तराईको आदिवासी डगौरा थारु, रानाथारु, कठरिया थारु ,चौधरी थारु बस्तीमा यति बेला हरडहुवा, निमौनी र हरडहुवाको रौनक निकै थपिएको छ । जुन पर्वको रौनकले रोपाइको कार्य समापन भएको जनाउ पनि दिने गर्दछ ।
यसैबीच हरडहुवामा बृद्धबृद्धाहरु पर्वमा चाहिने दुना टपरी गाँसेका र पर्वको लागि जिटा (मासु) कतेका छन् । पृथ्वीपुर गाउँ सामाजका भल्मन्सा लहानु चौधरीले हरडहुवा पर्वको अवसरमा चेलीबेटी तथा ईष्ट मित्रहरूलाई घरमा आमन्त्रण गरी आपसमा खुसीयाली साटासाट गरिने प्रचलन रहेको बताए ।

उनका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हलो धुनु हो , गाउँ भरिका किसानको रोपाइँ सकेको उपलक्ष्य म खुशीयाली मानउनु हो । जुन पर्वमा बङ्गुर, खसी सामूहिक रूपमा काटेर खानपान गरी रमाउने प्रचलन रही आएको हो । तर बस्ती पिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ । पृथ्वीपुर गाउँमा सामूहिक हरडहुवा मनाइसके पछि पृथ्वीपुर गाउँका युवाहरु काम गर्न बाहिर नजिक देश ईन्डिया जान्छन् ।

बर्दगोरिया गाउँपालिका ६ पृथ्वीपुरका भलमन्सा लहानु चौधरीले गाउँको भेलाले असार २७ गते गाउँभरिको सामूहिक हरडहुवा मनाउने निर्णय भएको जानकारी दिए ।
थारु समुदायमा हरडहुवाको आफ्नै मौलिक विशेषता रहेको छ । रोपाइको क्रममा जानी नजानी किरा फट्याङ्ग्रा, सर्प, भ्यागुतालगायत जीवहरू मार्ने काम हुने हुँदा पापबाट मुक्तिको लागि पनि हरडहुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रही आएको बताइन्छ ।
उता पहाडी जिल्ला तथा पहाडी समुदायमा हरियो सङ्क्रान्ति मनाउने प्रचलन पनि रही आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ वासुदेव पाण्डेका अनुसार हरियो सङ्क्रान्तिको अवसरमा अन्नबाली सप्रियोस् भनी मेल प्रजातिको रुखको हाँगा धान रोपिएको खेतमा गाड्ने प्रचलन रहेको जानकारी दिए ।
यसैबीच असारको समाप्ति तथा साउनको आगमनले हिन्दु धर्मवलम्बीहरुमा अलग्गै उत्साह थपिएको छ । खेतीपाती वृद्धिको लागि भगवान् शिवको पूजाआजा गर्ने, दीन दुखीलाई अन्न दान गर्ने परम्परा समेत रहँदै आएको बताइन्छ । साथै साउन महिनाभरि माछासामु नखाने, साउनभरि दैनिक रूपमा मन्दिर तथा देवालयमा जल चढाउने समेत गरिन्छ ।
पछिल्लो समय सबै जातजातिका महिलाहरूले साउने सङ्क्रान्तिको अवसरमा हरियो चुरा लगाउने, हातमा मेहन्दी लगाउने समेत गरिएको छ ।