धनगढी । कैलाली र कञ्चनपुरमा अविरल वर्षा भइरहेकोले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै अविरल वर्षासंगै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।




यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारीद्धारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौंबाट प्राप्त सूचना अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।
कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर, टिकापुर, बर्दगोरिया लगायतका क्षेत्र जलमग्न भएका छन् । यहाँ केही दिनबाट परिरहेको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।