बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न – ६ लाई ‘पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।
‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ६ न वडालाई ‘पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।


घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन्। वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरुले खोप पाइसकेकाले वडा लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बर्दगोरिया गाउँपालिका ६ स्थित कोटातुल्सिपुर स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण देव जोशीले बताउनु भयो । कोटातुल्सिपुर स्वास्थ्य चौकीका अनुसार,अहिलेसम्म ६ न स्वास्थ्यकेन्द्रमा ९५ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ।


अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको बर्दगोरिया गाउँपालिका वडाअध्यक्ष रामकृष्ण ड्गौरा थारुको भनाइ छ।


सामुदायिक बिद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको समेत उनले बताइन्। स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ।