
बौनिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत लिन सकस परेको छ । दोस्रो पटक विश्वासको मत लिनको लागि बोलाएको बैठकमा सत्ता पक्षकै दलहरुलाई रुझाउन नसक्दा मुख्यमन्त्री दोस्रो पटक पनि विश्वासको मत पाउन असफल भएका छन । बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई सत्ता साझेदार दलहरुले नै मत दिन आनाकानी गरिरहेका छन ।




मुख्यमन्त्री सोडारीले दोस्रो पटक शनिबार अपराह्न साढे ५ बजेका लागि विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएको थिए । जसमा नेकपा एमालेले तयारी नपुगेको भन्दै तत्काल सोडारीलाई विश्वासको मत दिन अस्विकार गरेको थियो । यसअघि शुक्रबार अपराह्नको लागि बोलाइएको बैठकमा पनि एमालले एक्कासी छलफल गर्नुपर्ने भन्दै बठक सार्न लगाएको थियो ।




शुक्रबार विहान सम्म विश्वासको मत दिन तयार देखिएमा एकाएक परिवर्तन आएपछि सोराडीलाई विश्वासको मत दिन सकस परेको हो । दोस्रो पटक बोलाएको बैठक पनि स्थगित भएपछि अब सोराडीले विश्वासको मत पाउने नपाउनेमै आशंका गर्न थालिएको छ । यसबिच एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौँ गएकाले आशंकालाई झन मलजल पुगेको छ । रावल काठमाण्डौं गएपछि बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिएका छन । सत्तासाझेदार नेकपा (एमाले) ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राख्दै आएको छ ।




उता नेपाली कांग्रेसले सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिइसकेको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्री सोडारीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन ।
हाल साडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापक संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेससहितको गठबन्धनको पक्षमा छन् । सो पार्टीमा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेतक डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका छन् ।




नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा.तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) को सभामुखबाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।
