कात्तिक १०, काठमाडौं । अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।

अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ । सोहीकारण उक्त क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र त्यस अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा नगर्न नगराउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै यस अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति समेत प्रदान गरिने छैन । यस्तो अनुमति दिने काम आजदेखि नै बन्द गरिएको छ । सोही भेगमा पदयात्रामा गइसकेको भए सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।