कात्तिक ८ , तनहुँ । दसैँ  र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ ।  चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग घुम्न निस्कने पर्यटक बढेसँगै बन्दीपुर बजार, होटल तथा आसपासका पर्यटकीय स्थलमा चहलपहल बढेको छ । पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढेको छ ।

बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैसबहादुर गुरुङका अनुसार दसैँ र तिहारबिचको लामो बिदाले आन्तरिक पर्यटकको सङ्ख्या बढाएको हो । परिवार र साथीभाइसँग छोटो भ्रमणमा निस्कनेका लागि बन्दीपुर सहज गन्तव्य बनेको उहाँले बताउनुभयो । ‘भिजिट बन्दीपुर २०२५’ अभियानमार्फत गरिएको प्रचारप्रसारले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

परम्परागत घर, ढुङ्गा छापिएका सडक, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकन बन्दीपुरका प्रमुख आकर्षण हुन् । बजारका पुराना गल्लीमा घुम्ने, स्थानीय परिकारको स्वाद लिने र मौलिक बस्तीको रहनसहन बुझ्ने अवसरले पर्यटकलाई आकर्षित गर्ने गरेको बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले बताउनुभयो । पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन पनि बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

बन्दीपुर बजारसँगै खड्गदेवी मन्दिर, थानीमाई, रानीवन, रामकोट र प्रसिद्ध सिद्धगुफा लगायतका स्थलमा पनि पर्यटकको चहलपहल बढेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर प्रचारप्रसार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरको आकर्षण बजारको सुन्दरता र हिमालको दृश्यमा मात्र सीमित छैन, यहाँको मौलिक संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।’’