असोज २८, कञ्चनपुर । महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारुको शव पाँच दिन पछि फेला परेको छ । क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुलमा चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बेपत्ता हुनुभएका सहायक निरीक्षक थारुको पाँच दिन पछि शव फेला परेको प्रहरीले जनाएको हो ।





जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सशस्त्रका सहायक निरीक्षक थारुको शव क्षतिग्रस्त झोलुङ्गे पुल क्षेत्रमा तैरिएको अवस्थामा फेला परेको छ । गोताखोरसहितको टोलीले गत शनिवारदेखि थारुको खोजी गर्दे आएका थिए । तर फेला पार्न भने सकेको थिएन् ।


गत शनिबार दिउँसो नेपाल टेलिकमको तार तान्ने क्रममा रबर बोट अनियन्त्रित हुँदा उहाँ बेपत्ता हुनुभएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ घर भएका सहायक निरीक्षक थारु चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत साता दिन पहिले मात्र दार्चुलाबाट कञ्चनपुर खटाइएका थिए ।
मृतक थारुका परिवारले भने टेलिकमको तार तान्ने काम प्राविधिकको भएकाले सन्दीपलाई खटाएर गम्भीर त्रुटि गरिएको आरोप लगाउनुभएको छ । मृतकका बुबा धनबहादुर थारुले प्राविधिकले गर्ने काममा छोरालाई खटाइएको भन्दै आपत्ति जनाउनुभयो । नदीबाट शव बाहिर निकालेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












