भदौं १९, काठमाण्डौ । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।

CP-HOSPITAL

नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । “पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,” प्रजिअ पौडेलले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।